हुम्ली पत्रकारका गुरु जयबहादुरलाई श्रद्धासुमन

कर्णबहादुर रोकाया । हुम्ला
हुम्लालगायत कर्नालीका व्यवसायिक पत्रकारिताका गुरु, अगुवा, अग्रज तथा फरक धारका पत्रकार हुन्, जयबहादुर रोकाया । सम्भवतः कर्नालीमा करिब पाँच दशकसम्म पत्रकारिता गर्ने उनी मात्र एक्ला पत्रकार हुन् । विसं २०२४ र ०२६ को कालखण्डमा कर्नालीको बिगुल मानिने सामयिक पत्रिका बेन्नुमा लेख रचना छपाएर पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।
हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिताप्रतिको क्रेजले आफूलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुचि, कान्तिपुरजस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्यिस्तरसम्मका पत्रिकाका कर्नाली गुरु मानिँदै आएको छ, जयबहादुरलाई ।
पञ्चायती व्यवस्थाको कालरात्रीको कठोर समयमा सचेतनाको बिगुल फुक्ने पत्रिका बेन्नुको प्रकाशनकालदेखि पत्रकारिता आवद्ध कर्नालीका एक व्यवसायीक सिर्जनशील, उर्जाशील र खोज पत्रकारिताको माध्यमबाट कर्नालीको हुम्लालाई राष्ट्यिस्तरमा चिनाउने हुम्ली पत्रकारिताका गुरु, सामाजिक अभियन्ता, हुम्ली कम्युुनिष्टका अगुवालगायत विभिन्न क्षेत्रका अगुवा सर्जक जयबहादुरको ६६ वर्षको उमेरमा २०७७ साल साउन १७ असामयिक रुपमा निधन भएको छ । कर्नालीको साझा आवाजको रुपमा प्रकाशन हुने बेन्नु पत्रिकामा आवद्ध भएर उनले जेवी प्यासीको रुपमा लेख रचना प्रकाशित गरेका थिए । २०२४ सालपछि कर्नालीका जागरुक युवाहरुको समूहले शुरुवात गरेको बेन्नु पत्रिकाको कोर टिममा सहभागी भएर पत्रकारिताको माध्यमबाट आफू र आफ्नो समाजलाई सचेत बनाउनका लागि ठूलो र कठिन संघर्ष गरेका थिए । उनी हुम्लामा कम्युनिष्टका गुरु, पत्रकारिताका गुरु, सामाजिक सचेतनाका अग्रज र व्यवसायीहरुको साझा मञ्च उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष जस्ता विभिन पदहरुमा रहेर प्रगतिशील समाजको निर्माणमा लागेका थिए । करिब एक वर्ष जेल बसेका रोकाया प्रगतिशील विचार थियो । केही दिनको पक्षधातले बिरामी परेका रोकायालाई त्यही बिरामले सधैँका लागि हामीहरु माँझबाट चिरनिद्रा पु–याएको छ ।
हुम्ला जिल्लाको राजनीतिकदेखि सामाजिक अभियानको क्षेत्रमा एक अगुुवाको रुपमा परिचित रोकाया विभिन्न विषम परिस्थितिमा पनि पत्रकारिता जस्तो विना आर्जनको पेशालाई व्यवसाय बनाएर कर्नालीमा रत्नाकर देवकोटापछि आफुलाई एक संस्था, एक टेड्मार्क, एक आइकोन र एक अविभावकको रुपमा हामी र हाम्रो इतिहासले सम्झि रहनेछ । हुम्लाको विकासे कुराका सवालहरु, सामाजिक र सांस्कृतिक सन्दर्भका लेख रचनाहरु, राजनीतिक सचेतनाका कुराहरु र पत्रकारिताको क्षेत्र जस्ता बहुआयामिक कुराहरुको जग बसाल्ने रोकायाले एक इतिहासलाई खुला विद्यालयको रुपमा चिनाएर गएका छन् ।

वि.सं.२०१२ साल माघ १२ गतेका दिनमा आमा औंली रोकाया र बुबा सिंहवीर रोकायाको पहिलो सन्तानको रुपमा सिमकोट गाउँपालिका वडा नं ५ खाद्दक गाउँको हिल्छारुख टोलमा जन्म भएको हो । उनका दुई भाइ र एक बहिनी रहेका छन् । उनका चार छोरा र एक छोरी र श्रीमती छन् ।

आफू बत्तीमुनीको अध्याँरो भएर पनि उनले हुम्लाको पत्रकारिता क्षेत्र, राजनीतिक क्षेत्र, सामाजिक र अन्य क्षेत्रका अभियन्ताको अगुवा थिए । उहाँलाई भयाङ्ग बनाएर विभिन्न क्षेत्रका लाग्नेहरु हुम्लाबाट उठेर राष्ट्यिस्तरको क्षेत्र पुगे । अहिले उहाँको सम्झनामा केही शब्द खर्च गर्न पनि उपयुक्त नठान्ने यस्ता व्यक्ति र प्रवृत्तिलाई समाजमा ताक परे तिवारी नत्र गोतामेको संज्ञा दिन थालिएको छ । पत्रकारिता क्षेत्रलाई सँधै विशेष सीप र पेशा मानेर ५० वर्षसम्म क्रियाशील जयबहादुर रोकायाको सम्झना र सम्मानका यी अक्षरहरु तेह्र दिनको पूण्यतिथिमा अर्पण गर्न चाहन्छु अनि हार्दिक श्रद्धा सुमन । अल विदा ।