बैजनाथका सबै वडामा स्वास्थ्य सेवा विस्तार

रवि रोकाया । बनकटुवा (बाँके)
बाँकेको बैजनाथ गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ ।
गाउँपालिकाको ८ वडामध्ये वडा नं. २, ४, ६ र ७ बाहेक सबैमा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप–स्वास्थ्य चौकी थिए । स्वास्थ्य संस्था नभएका ती वडाहरुमा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरेर गाउँपालिकाले सबै वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको हो ।
गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बुधबार वडा नं. २ डिगियामा स्वास्थ्य कार्यालयको उद्घाटन गर्दै स्थानीयले सामान्य स्वास्थ्य समस्यामा अयन्त्र जानुपर्ने बाध्यता हटेको बताए । उनले भने, ‘आधारभूत स्वास्थ्य कार्यालयबाट न्यूनतम् उपचारसँगै मनोपरामर्श सेवा शुरु हुनेछ ।’
हरेक वडामा स्वास्थ्य सेवा विस्तार भएकोमा स्थानीय खुसी छन् । बैजनाथ–२ का युवा राजु रुचालले स्वास्थ्य कार्यालयबाट सबै सेवाहरु उपलब्ध गराउन माग गरेका छन् । गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रमा एक/एक जना अहेव र स्टाफ नर्स र कार्यालय सहयोगीलाई काममा खटाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाही न्यूनतम् सेवाहरु क्रमिक रुपमा विस्तार गरिने बताउँछन् ।