‘भर्चुअल तिज’ को खुुसी र रौनकता

मेरो खुसी संवाददाता

नारीहरुले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परा अनुसार शिव पार्वतीको उपासना र पूजा गर्ने भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तिज नेपाली हिन्दु नारीको मौलिक धार्मिक र सांस्कृतिक पर्व हो । नारीहरुको लागि तिजको महत्व हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहनेछ । ब्रत पूजा जस्ता धार्मिक अनुष्ठानको परम्परा उस्तै छ । तर तिजको सांस्कृतिक पक्षमा केही उतार चढाव आएका छन् ।
हजुरआमा र आमाको पुस्ताले माइत पुगेर विरहका गीत गाउँदै घरपरिवारका सदस्यबाट वर्षभरी पाएको दुःख बिर्सन्थे । त्यसपछिको पुस्तामा पनि तिजको गीतले निरन्तरता पायो तर तिजमा समाजका विकृति विसंगतिलाई समेट्न थालियो । महिना दुई महिनादेखि दर खाने प्रचलन सुरु भयो । तिजको महत्व घटेन तर केही विकृति भने थपिए । अहिलेको पुस्ताले भने तिजलाई सामाजिक सञ्जालको भरपूर प्रयोग गरेर मनाएको छ । र, सँगै डो¥याएको छ, अघिल्लो पुस्तालाई पनि ।
कोरोना कहरका कारण पनि नारीहरुलाई भर्चुअल तिजको संसारमा रमाउन सिकायो । अनि सूचना र सञ्चारका नयाँ नयाँ प्रविधिप्रति अघिल्लो पुस्तालाई पनि अभ्यस्त बनायो । तिजमै धेरैले टिकटक चलाउन सिके । टिकटकमा तिजका गीत र नृत्यहरु अपलोड गरे । नातिनीसँगै बसेकी हजुरआमालाई पनि टिकटक हेर्दा रमाइलो महसुस भयो । कतिले युट्युब च्यानल नै खोले । खोल्नेले तिजका गीत अपलोड गर्ने अवसर बन्यो । फेसबुक लाइभ गर्न त धेरैलाई सिकायो । अभ्यास पनि गरे । सामाजिक सञ्जालका पेज भरी तिजका गीत र नृत्यका भिडियोले भरिएका छन् ।
माइत जात नपाएका छोरी चेलीहरु अनलाइनमार्फत पुगें । स्वदेश र विदेशमा रहनेले प्रविधिको सदुपयोग गरे । जुमलगायतका एप्सहरुबाट लाइभ कार्यक्रमहरु सञ्चालन गरेर तिजको सामुहिकताको अभ्यास पनि भयो । टाढिएकाहरु पनि तिजले यस्ता सामाजिक नेटवर्कबाट एकैथलोमा बसे जस्तो आनन्द लिए । विगतमा तिजमा धेरैभरी महोत्सवहरु हुन्थे । यो वर्ष त्यस्ता महोत्सव भएनन् । तिज गीत र नृत्य प्रतियोगिता भए तर भर्चुअल रुपमा । जित हार पनि भर्चुअल जजमेन्टका आधारमा भयो ।
हिन्दु नारीको धार्मिक र सांस्कृतिक पर्व तिजलाई कोरोनाले घरमै बसेर रमाउन सिकायो । हामी घरभित्रै बस्दा मात्र कोरोनाबाट सुरक्षित हुनसक्छौं । पर्व मात्र होइन, हाम्रो मौलिक खानपान पनि कोरोनाविरुद्ध लड्नसक्ने रोगप्रतिराधात्मक क्षमता वृद्धि गर्ने खालकै हुन । अब बिर्सँदै गएका यस्ता परिकार पनि तिजबाटै आत्मसात गर्न थालौं । अनि भर्चुअल रुपमा तिजको गीतसँगै कोरोनाको सचेतना फैलाए झैं हाम्रो मौलिक संस्कार, संस्कृति र खानपानबाट पाउने खुसीलाई पनि बाँडौं । तिजको सबैलाई शुभकामना ।