सयौं व्यक्तिको उपस्थितिमा हाइमास्ट लाइटको शिलन्यास

नेपालगन्ज : कोरोनाका कारण सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला नहुने भनेको छ तर शनिबार नेपालगन्ज उपमहानगरपालिका १५ को एक कार्यक्रममा सयौं मानिसहरुबीच हाइमास्ट लाइटको शिलन्यास भइरहेको थियो ।
शहरी विकास तथा भवन डिभिजन विभागको संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति थिए, पूर्वसहरी विकास मन्त्री मो.इस्तियाक राई । कार्यक्रममा प्रहरी पनि थिए तर भीँड नियन्त्रण गर्न भूमिका निर्वाह गरेको देखिएन । धेरै जनाको भीँड देख्दा पूर्वमन्त्री राई शिलन्यास गर्नेदेखि भाषण गर्दा हतारिएका थिए । शिलन्यास निकै चाँडो सके । भाषण पनि निकै छोटो गरे । उनी मन्त्री हुँदा नै नेपालगन्जलाई रातमा झिलीमिली पार्ने हाइमास्ट जडान गर्ने आयोजनाका लागि बजेट विनियोजन गरिएको थियो । उनले भाषणमा भने, ‘अघिल्लो वर्षको बजेटमै ठेक्का भए पनि कोरोनाका कारण काम गर्न गाह्र्रो भएका कारण ठेक्काको म्याद ६ महिना थपेर अहिले काम हुँदैछ ।’

नेपालगन्जको सीमा नाका जमुनाहाभन्दा उत्तर पूर्वमा रत्नराजमार्गबाट मुुस्किलले तीन सय मिटरको दुरीमा राख्न लागिएको हाइमास्ट लाइट त्यहाँ नै राख्नुपर्ने कुनै कारण देखिन्थ्यो । संघीय आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख विजयकेशर खनालले हरेक वडामा कम्तीमा एक एक वटा पर्ने गरी नेपालगन्ज उपमहानगरपालिकाका ३९ स्थानमा हाइमास्ट जडान भइरहेको बताए । यो स्थानमा किन हाइमास्ट जडान गर्नुपरेको हो ? मेरो खुसीको जिज्ञासामा नि.प्रमुख खनालको जवाफ थियो, स्थानहरु उपमहानगरपालिकाले छनोट गरेर दिएको हो । चोक र बस्ती भएको स्थानलाई लक्षित गरेर जडान हुँदैछन् । नेपालगन्जमा ३९ र कोहलपुरमा १३ वडा हाइमास्ट जडानका लागि आयोजनाले ६ करोड ४० लाख ३२ हजार २ सय ८२ रुपैयाँ बजेट रहेको जनाएको छ ।