कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यकृया

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार कोरोना संक्रमित गर्भवती महिलाले बच्चा जन्माएकी छिन । बुटवल उपमहानगरपालिका ११ नहरपुरकी २८ बर्षिय महिलाको शनिवार विहान शल्यकृया गरेर बच्चा निकालिएको अस्पतालले जनाएको छ ।
अस्पतालका सहायक निर्देशक दिनेश श्रेष्ठका अनुसार शुक्रबार बिहान ३ः३० बजे अस्तालमा भर्ना भएकी संक्रमित गर्भवती महिलाको शनिबार बिहान ९ः१० बजे शल्यकृया गरेर बच्चा( छोरी) निकालिएको थियो । बच्चाको २ किलो ६ सय ग्राम तौल रहेको छ भने हाल बच्चा र आमा दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
एकसाता अघि बुटवल लुम्विनी प्रादेशीक अस्पतालमा भर्ना भएकी ती महिलाका श्रीमानलाई संक्रमण भएको थाहा पाएपछि अस्पतालले ती गर्भवतीको पनि नमुना लिएको थियो । स्वाव परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले तत्काल त्यहाँबाट शिक्षण अस्पताल कोहलपुर रेफर गरेको थियो । शिक्षण अस्पताल कोहलपुर कोभिड लेभल ३ को मान्यता प्राप्त अस्पताल हो ।
संक्रमित गर्भवती महिलाको डा.राम विश्वास, डा.विनोद महासेठ, डा. रनिस श्रेष्ठ लगायतको टीमले सफलतापूर्वक शल्यक्रिया गरेको सहायक निर्देशक श्रेष्ठले जानकारी दिए । अस्पतालमा हालसम्म चारजना गर्भवतीको शल्यक्रिया गरिएको छ ।