एकैदिन २९ प्रहरी आइसोलेसनबाट डिस्चार्जपछि वडा प्रहरी कार्यालयमा साँझदेखि ड्युटी

नेपालगन्ज : एकैदिन २९ प्रहरी संक्रमण मुक्त भइ आइसोलेसनबाट डिस्चार्ज भएपछि वडा प्रहरी कार्यालय नेपालगन्ज आइतबारदेखि साँझदेखि ड्युटी सुरु गर्ने तयारी गरेको छ ।
वडा प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर हरिबहादुर बस्नेतका अनुसार ३६ जनामा कोरोना संक्रमण भएकोमा आइतबार २९ जना र यसअघि नै ५ जना डिस्चार्ज भइसकेका छन् । अब २ जना मात्र आइसोलेसनमा छन् । ‘चिकित्सकको परामर्श अनुसार हामीले आजै साँझदेखि ड्युटी सुरु गर्ने तयारी गरेका छौं’, बस्नेतले भने, ‘सामाजिक दुरी कायम गर्ने, ग्लोब्स र सेनिटाइजर प्रयोग गर्ने सुरक्षाका सबै विधि अवलम्वन गरिनेछन् ।’
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आइतबार ४६ जना डिस्चार्ज भएका हुन् । जिल्लामा कूल ८ सय २५ जना संक्रमित रहेकोमा ६ सय १४ जना डिस्चार्ज भइसकेका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा २ सय ३ जना उपचार गराइरहेका छन् । कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ ।