कर्मचारी मिलन केन्द्रद्धारा नेपालगन्जमा रक्तदान
नेपालगन्जः कर्मचारी मिलन केन्द्र बाँकेले बिहिबार नेपालगन्जमा रक्तदान कार्यंक्रमको आयोजना गरेको छ ।
कोरोना भाइरसका कारण अस्पतालहरुमा भएको रगत अभाव परिपुर्ति गर्न नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रसंगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।
मध्य तथा सुदुर पश्चिमका गम्भिर प्रकृतीका विरामी उपचारका लागि नेपालगन्जस्थित भरी लगायत अन्य अस्पतालमा आउँदै गर्दा रगत अभाव भएपछि राष्ट्रसेवक कर्मचारीहरुलाई रक्तदानका लागि आव्हान गरी रक्तसंकलन गरीरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँङ्गले बताए ।
रक्तदान कार्यक्रममा विभिन्न कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतले रक्तदान गरीरहेका छन । हालसम्म सय जना बढीले रक्तदान गरीसकेको र विभिन्न कार्यालयबाट रक्तदान गर्न आउनेक्रम जारी रहेकोले रक्तदान गर्नेको संख्या बढ्न सक्ने कर्मचारी मिलन केन्द्र बाँकेका सचिव कृष्ण बहादुर पुनले बताए ।
कोरोना महामारिका समयमा जिल्लामा रगत अभाव देखिएपछि भेरी अस्पताललगायत विभिन्न अस्पतालमा उपचारका लागि आउने विरामीहरुले रगतको अभावमा समस्या खेप्दै आएका छन । कोरोना भाइरसका कारण संस्थागत रक्तदान गर्ने कार्यक्रम नभएकोले ब्लड बैंकमा मौज्दात रहेको रगतमा कमी भएको नेपाल रेडक्रस सोसाईटी ब्लड बैंक युनिटका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले बताए । ‘संकटको समयमा पनि विभिन्न समुह मार्फत रगत संकलन भइरहेकोले त्यस्तो समस्या छैन’ उनले भने । रक्तदान गरेका कर्मचारीहरुको कोरोना परिक्षण समेत भईरहेको स्वास्थ्य कार्यालय बाँकेका कारोना फकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।