नेपालगन्जमा कोरोनाबाट ३७ वर्षका पुरुषको मृत्यु

नेपालगन्ज : बाँके जिल्लामा कोरोनाबाट ५औं व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का ३७ वर्षका पुरुषको बुधबार बिहान १ः३० बजेतिर कोरोनाबाट मृत्यु भएको बताए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोना संक्रमित ती व्यक्तिको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा निधन भएको हो । उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो । कोरोना फोकल पर्सन श्रेष्ठले ८ भदौको बिहान १० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा छाती समस्या भएर भर्ना भएका थिए । सोही दिन उनको स्वाब संकलन गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मंगलबार राति ९ बजे शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरसहितको उपचारका लागि मा स्थानान्तरण गरिएको थियो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगन्जका एक एक जनाको मृत्यु भइसकेको छ । जिल्लामा नेपालगन्जमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।