नेपालमा कोरोनाबाट मृत्युको ४२% प्रदेश २ का
नेपालगन्ज : नेपालमा कोरोनाबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु प्रदेश २ मा ४२ प्रतिशत भएको छ । यो प्रदेशका सबै जिल्लामा कम्तीमा ३ जनादेखि बढीमा ३१ जना व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार बिहानसम्मको तथ्याङ्क अनुसार देशभरी कोरोनाबाट एक सय ७५ जनाको मृत्यु भएको छ । प्रदेश २ का पर्सामा ३१, धनुषा १२, बारा १०, सप्तरी ५, सिरहा, सर्लाही, महोत्तरीमा चार चार र रौतहटमा ३ जना गरी ७३ जना व्यक्तिको ज्यान गएको छ । जुन देशको कोरोनाबाट कूल मृत्युको ४१.७१ प्रतिशत हो । देशको कूल कोरोनाबाट मृत्युको १७.७१ प्रतिशत त पर्सा जिल्लाको मात्रै हुन आउँछ । पर्सामा कोरोनाबाट मृत्यु हुने संख्या बागमति प्रदेश बाहेक देशका सबै प्रदेशको कूल मृत्यु भन्दा पनि बढी छ । बागमतिमा ३७, प्रदेश ५ मा २३, प्रदेश १ मा २०, सुदूरपश्चिममा १०, गण्डकीमा ८ र कर्णालीमा ४ जनाको कोेरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।