शुभेच्छुकको माया नै नेपाल आइडल जित्ने आधार : प्रविन वेडवाल

राजापुर : नेपाल आइडल  सिजन–३ का प्रतिष्पर्धी प्रविन वेडवालले निरन्तर साधना, शुभचिन्तकको माया र हौसला नै आफ्नो नेपाल आइडल जित्ने आधार भएको बताएका छन् ।

नेपाल आइडल ग्राण्ड फिनालेको अघिल्लो दिन बिहीबार मेरो खुसी डटकमसँग कुरा गर्दै गायक वेडवालले दर्शक र शुभचिन्तकले यसअघि देखाएको सदभावप्रति कृतज्ञता व्यक्त गर्दै भोटिङको अन्तिम अवसरलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । ‘शुभचिन्तकको मायाले हौसला बढेको छ । दर्शकको माया नै मेरो नेपाल आइडल जित्ने आधार हो’, उनले भने, ‘म मेरो दर्शक र शुभचिन्तकलाई आफ्नो प्रस्तुतीमा निराश हुन दिन्न । उहाँको माया र हौसलाको उर्जाका साथ ग्राण्ड फिनालेमा पनि उत्कृष्ट प्रस्तुती दिने प्रयत्न गर्नेछु ।’ एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडलको ग्राण्ड फिनाले भदौ १२ गते शुक्रबार हुँदैछ । बेडवालले आफूलाई भदौ १२ गते शुक्रबार बेलुका ५ बजेसम्म भोटिङ गर्न अनुरोध गरेका छन् ।

को हुन्, प्रविन बेडवाल ?

नेपाल आइडल  सिजन–३ को फाइनल चरणमा पुगेका वेडवाल बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–४ गोला निवासी हुन् । नेपाल आइडल–२ मा सुदूरपश्चिमबाट प्रतिस्पर्धी बनेका रवि ओडलाई देश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीको भोटले आइडल बनाए जस्तै प्रविनलाई पनि पश्चिम क्षेत्रको सिंगो भोटका साथै उनको प्रस्तुतीकरण र शैलीका कारण देशभरीबाट भोट आइरहेको उनका समर्थकको दावी छ ।

बाँके र बर्दियाका ठाउँ–ठाउँमा प्रविन जिताउ अभियान नै थालेर जसरी युवाहरुले भोट माग्ने क्याम्पेनिङ चलाएका छन् । त्यसले प्रविनको पक्षमा छुट्टै माहोल बनाएको र यही माहोलका कारण प्रविनको जीत सुनिश्चित भएको उनका समर्थक संगीतकार प्रभात सुवेदी बताउँछन ।

प्रविनको गीत सुनेर स्वर सम्राट नारायणगोपालले नेपालमा आफ्नो उत्तराधिकारीका रुपमा गीत गाउनकै लागि पठाएको आभास भएको उनको भनाइ छ । हाल उनलाई जिताउन सामाजिक सञ्जालमार्फत भोटिङका लागि अनुरोध गरिएका सन्देशहरु समेत निरन्तर आइरहेका छन् । यतिबेला बाँके र बर्दियामा उनका पक्षमा माहोल निकै तात्तिएको छ । उनका फ्यानहरु प्रचार प्रसार गर्न र भोटिङ  गरिरहेका छन् ।

भारतको बनारसमा संगीत सिकेका उनको गायन क्षमताको आइडलका निर्णायकहरु नै प्रशंसक रहेका छन् । क्लासिकल तथा आधुनिक गीतहरु मिठो प्रस्तुतीसँग  सुरिलो स्वरका साथ गाउन माहिर प्रविनले देश विदेशमा रहेका नेपाली दर्शकहरु तथा शुभचिन्तकवाट साथ र सहयोगका लागि प्रतिवद्धता आइरहेको बताए ।

नेपाल आइडल  सिजन–३ मा बेडवालसँगै किरण भुजेल र सज्जा मैनाली प्रतिष्पर्धामा छन् । यसअघिको प्रस्तुतीमा दर्शकले दिएको भोटका आधारमा भोलि शुक्रबार नै यस वर्षको नेपाल आइडल विजेता घोषणा गरिनेछ । तीनैजनाका फरक फरक गायन शैली भएका कारण यस पटकको प्रतियोगिता थप रोचक हुने अनुमान गरिएका बेला प्रतियोगिता अवधिभरको प्रस्तुती र दर्शकले दिएको भोटका आधारमा भने बर्दियाका प्रविन बेडवाल नेपाल आइडल ३ को विजेताका लागि सम्भावित बलियो दाबेदार हुन् ।