कोरोनाले बाँकेमा क्षयरोगी पहिचान २९% ले घट्यो

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल कार्यक्रममा धारणा राख्दै । फोटो सौजन्य : पूर्णलाल चुके

नेपालगन्ज : बाँके जिल्लामा कोरोनाका कारण क्षयरोगी पहिचान २९ प्रतिशतले घटेको छ ।
नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँकेले आइतबार नेपालगन्जमा आयोजनामा गरेको नेपालमा क्षयरोग र एचआइभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्यूनिकरण कार्यक्रम सम्बन्धि सरोकारवालाको अभिमुखीकरण कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेलले कोरोनाका कारण क्षयरोगी पहिचान प्रभावित भएको बताएकी हुन् ।
‘गत वर्षमा एक हजार दुई जना क्षयरोगी पहिचान गर्ने लक्ष्य थियो । हामीले आठ सय ५० जना मात्र पहिचान गर्न सक्यौं’, उनले प्रष्ट पारिन्, ‘स्वास्थ्यको जनशक्ति कोभिड–१९ को रोकथाम र नियन्त्रणको अभियानमा फ्रन्टलाइनमा रहेर क्रियाशील भएकाले क्षयरोगी पहिचान पनि प्रभावित भएको हो ।’ जुन कूल क्षयरोगी पहिचान गर्ने लक्ष्यभन्दा २९.१६ ले कम हो । उनले चालु आर्थिक वर्षको शुरुको डेढ महिनामा मात्र ६ जना गर्भवती महिलाको ज्यान गएको बताउँदै कोरोना कहरका कारण मातृ मृत्यु दर बढेको बताइन् ।

कार्यक्रमका स्रोत व्यक्ति नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका पूर्वसभापति पूर्णलाल चुकेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समाजमा विद्यमान क्षयरोग सम्बन्धि समस्या पहिचान गरेर सरोकारवालाहरुले आ–आफ्नो क्षेत्रबाट न्यूनिकरणको लागि सहयोग गरेर क्षयरोग मुक्त समाजको निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा अर्का स्रोत व्यक्ति नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सरोज रिमालले क्षयरोग, यसका लक्षण, रोकथामका उपाय र नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा क्षयरोगको अवस्थाबारे जानकारी दिएका थिए ।
नाटा बाँके शाखाका उपसभापति बदरुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नाटाका केन्द्रीय सदस्य सेमराज शाक्यले क्षयरोग कुनै पनि जाति धर्म वा सम्प्रदायलाई लाग्नसक्ने भएकोले यसको उपचारको लागि नेपाल सरकारले निःशुल्क औषधि तथा अन्य सेवाहरु प्रदान गर्दै क्षयरोगको सेवा लिन आग्रह गरेका थिए ।