बाँसगढीका ५८ सहित बर्दियामा ६१ जनामा कोरोना

चौधरी गु्रपमा कार्यरत मजदुरको सम्पर्कमा आएका घर परिवारका व्यक्तिहरुमा संक्रमण

गुलरिया : बर्दियाको बाँसगढी नगरपालिकाका ५८ जना सहित आईतबार बर्दियामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आईतबार ३६ पुरुष र २५ महिला गरी ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यी सबै केही दिन अघि बाँसगढी स्थित चौधरी गु्रपको चाउचाउ कम्पनीमा कार्यरत मजदुरहरुमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका घर परिवारका व्यक्तिहरु हुन ।
पछिल्लो २४ घण्टामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा बर्दियाका १ सय ९९ जनाको नमूना परिक्षण गरी पठाएकोमा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख गिरीले जानकारी दिए । आईतबार संक्रमण पुष्टि भएकाहरु मध्य बाँसगढी नगरपालिकाको वडानम्वर २, ३, ४, ५, ७, ८ र ९ का गरी ५८ जना हुन भने तीनजना बढैयाताल गाउँपालिकाका भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । ति मध्य सवैभन्दा बढी बाँसगढी नगरपालिका वडा नम्वर ३ का २९ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नम्वर ४ का ११ जना र ५ का १३ जना रहेका छन ।