भालुवाङले समग्र क्षेत्रको प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

नेपालगन्ज : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले प्रस्ताव गरेको प्रदेश राजधानी भालुवाङले सबै क्षेत्रको प्रतिनिधित्व गर्ने दाबी गरेका छन् ।
प्रदेश ५ को प्रदेशसभा बैठकमा मंगलबार दिउँसो बोल्दै मुख्यमन्त्री पोखरेलले भालुवाङले कुनै एक क्षेत्रको मात्र प्रतिनिधित्व गर्दैन । प्रदेशका सबै जिल्लाका वासिन्दाले बनाएको बजार हो भन्दै नदी किनारमा अत्याधुनिक व्यवस्थित नमूना भालुवाङमा सहर विकास गरिने बताए । ‘कहाँ राजधानी बनाउने भन्दा पनि कस्तो राजधानी बनाउने कुरामा छलफल गर्नुपर्छ ?’, उनले संसदको ध्यानाकर्षण गरे, ‘यो प्रदेशको सबैभन्दा ठूलो नदी सम्भता राप्तीको प्रस्थान विन्दुमा स्थायी राजधानी बनाउँदैछौं । जहाँ जातीय, भाषिक, आञ्चलिक रुपबाट पनि सम्बोधन गरेको छ ।’ प्रदेशको नामाकरण लुम्बिनी ऐतिहासिक र पुरातात्विक महत्वको रहेको उनको भनाइ थियो ।