बाँकेका ७० सहित एकैदिन ८९ जनामा कोरोना

नेपालगन्ज : बाँके जिल्लाका एक सरकारी र २ निजी प्रयोगशालामा सोमबार एकैदिन बाँकेका ७० सहित बाहिरी जिल्लाका १९ गरी ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ४२, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ३५ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा १२ गरी ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा बाँकेका मात्र ७० जना हुन् । अन्य १९ जना भने बाहिरी जिल्लाका हुन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार एक सय २० पुगेको छ । आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या भने चार सय ४९ पुगेको छ । अहिलेसम्म कोरोना निको भएर डिस्चार्ज हुने संख्या एक हजार ६ सय ५० छ भने बाँके जिल्लाका २१ जना र बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९ गरी ३० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।