प्रदेश ५ को राजधानी भालुवाङ दुई तिहाइ बहुमतबाट पारित

प्रदेश ५ को राजधानी भालुवाङको पक्षमा ६९ मत र विपक्षमा १३ मत प्राप्त, प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार मत मात्र

नेपालगन्ज : प्रदेश ५ को प्रदेशसभाबाट राजधानी भालुवाङ दुई तिहाइ बहुमतले पारित भएको छ ।
प्रदेश ५ सरकारले सभामा प्रस्तुत गरेको स्थायी राजधानी भालुवाङ प्रदेशसभामा मंगलबार दिउँसो भएको मतदानमा ६९ जनाले पक्षमा र १३ जनाले विपक्षमा मतदान गरेका थिए । त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार मत परेको छ। प्रदेशसभामा कूल ८७ जना सांसद रहेकोमा ८२ जना उपस्थित भएका थिए । प्रदेश ५ सरकारले दाङको देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो।