दशैंको टीकाको उत्तम साइत १०:१९

file photo

नेपालगन्ज : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको बडा दशैंको टीकाको उत्तम साइत १०ः१९ रहेको जनाएको छ ।
समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले दशैंको मुख्य दिन कात्तिक १० गते सोमवार बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएका छन् । विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ । विक्रम संवत् २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैं शुरू भएको हो । चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरू भएको हो । यो वर्ष दशैं र तिहार एकै महिना परेको छ ।