नेपालगन्ज-२ की वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ की वडा सदस्य शान्तिदेवी परियारको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास प्रस्वासमा समस्या आएर भर्ना भएकी ६७ वर्षीय परियारको उपचारका क्रममा सोमबार बिहान साढे १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कार्तिक ३ गते स्वाव संकलन गर्दा उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । ४ गते साँझ भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरी उपचार शुरु गरिए पनि स्वास्थ्यमा सुधार नआए पछि सोमबार बिहान १०ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । यो सँगै कोरोनाका कारण बाँकेका ३४ जनाको मृत्यु भइसकेको छ ।
उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २ बाट गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । वडा सदस्य परियारको निधनले नेपाली कांग्रेस पार्टीलाई क्षति भयको काँग्रेस बाँकेकी सभापति किरण कोइरालाले बताइन् ।