बाँकेका अस्पतालमा २ दिनमा कोरोनाबाट ७ को मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट २ दिनको अवधिमा बाँकेका अस्पतालमा उपचार गराइरहेका ७ संक्रमितको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मृत्यु हुनेमा बाँके र दाङका तीन तीन र कैलालीका एक जना रहेका छन् ।
आइतबार राति ११ः१३ मा दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको हो । यसअघि बिहान साँझ ५ बजे भेरी अस्पतालमै नेपालगन्ज उपमहानगरपालिका १६ की ७० वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको थियो । उनलाई स्वास प्रश्वास सम्बन्धी समस्या थियो । आइतबार राति १ बजे कैलालीको टीकापुर नगरपालिका–१ का ६० वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा निधन भएको थियो । त्यसैगरी साँझ ५ः३० बजे बाँकेको खजुरा गाउँपालिका–३ बीगाउँका ४० वर्षका पुरुषको पनि मृत्यु भएको थियो । उनलाई स्वासप्रश्वास सम्बन्धी पनि समस्या थियो ।
शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको बिहान पाँच बजे, तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षका पुरुषको दिउँसो २ः४५ बजे र नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको साँझ ५ः३० बजे मृत्यु भएको हो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बाँकेका अस्पतालमा उपचार गर्न आएका २१ जनाको ज्यान गइसकेको छ ।