खाद्य कम्पनी नेपालगन्जले मंसिर ७ गतेदेखि धान खरिद गर्ने

नेपालगन्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले मंसिर ७ गते देखि धान खरिद गर्ने जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाँङको अध्यक्षतामा कार्तिक ३ गते बसेको प्राथमिक खरिद समितिको बैठकले मंसिर ७ गते देखि धान खरिद गर्ने निर्णय गरेको कम्पनीले जनाएको हो । बैठकमा चिस्यानको समस्या हुने भएकोले सबै किसानहरु लाभान्वित हुनेगरी मंसिर ७ गते देखि खरिद गर्ने निर्णय भएको कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख निर्मल थापाले बताए ।
थापाका अनुसार कम्पनी नेपालगन्जले यसबर्ष पहिलो चरणमा ४० हजार क्विन्टल मोटो र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ । यसबर्ष कोरोना भाइरसका कारण सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गरेर खरिद गरीने भएको छ । धान खरिद प्रकृयावारे सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोलीले समेत बस्तुस्थिती बुझेर फर्केको प्रमुख थापाको भनाई छ । टोलिले प्रभावकारी तरिकाले सवै कृषकलाई सहज हुनेगरी धान खरिद गर्न सुझाव दिए अनुसार तयारी थालेको उनले बताए । ‘खरिद कार्य प्रभावकारी बनाउन भिडभाड र विगत जस्तो सास्ती नहुँने गरी सामाजिक दुरी कायम गरेर खरिद गर्ने तयारी थालेका छौ’ उनले भने ‘कम्पनीको मुख्य शाखा कारकाँदो नेपालगन्ज र नेशनल ट्रेडिङ्ग नेपालगन्जवाट खरिद गर्ने तयारी थालेका छौ ।’ कम्पनीले धान खरिद शुरु नगरेपछि हाल बजारमा व्यापारीहरुले मनोमानी रुपमा मुल्य निर्धारण गरी सस्तोमा धान खरिद गरीरहेका छन ।