भेरी अस्पतालमा थपियो अर्को विशेषज्ञ सेवा
नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा फोक्सो तथा श्वासप्रश्वास रोग (प्लमोनोलोजी), सघन उपचार सेवा र निद्रा रोगसम्बन्धी (स्लिप मेडिसिन सेवा) ३ वटा विशेषज्ञ सेवा सुरु भएको छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष डा.लक्ष्मण सिग्देल, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाललगायतले मंगलबार सेवा शुभारम्भ गर्नु भएको हो । डा. रञ्जित पाण्डेले फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार सेवा तथा निद्रा रोग सम्बन्धी विशेषज्ञ सेवा दिनु हुनेछ । अस्पताल विकास समितिका अध्यक्ष डा.सिग्देलका अनुसार अस्पतालले हरेक हप्ताको मंगलबार र बिहीबार ओपीडी कक्ष नम्बर ७ (ए) बाट यो सेवा दिनेछ ।
फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या, जटिल अवस्थाका बिरामीको सघन उपचार तथा निद्रासम्बन्धी समस्याको पहिचान, परीक्षण र उपचारका लागि बिरामीहरूले अस्पतालबाटै विशेषज्ञ सेवा प्राप्त गर्न सक्नेछन्।
‘आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने फोक्सो र छाती सम्बन्धी दीर्घरोगका बिरामीहरुले लाभ पाउनेछन्’, डा.सिग्देलले मेरोखुसीसँग भन्नुभयो, ‘निद्रा सम्बन्धी समस्या, घुर्ने लगायतका बिरामी अब उपचारका लागि काठमाडौं र भारत जानु पर्नेछैन ।’
पश्चिम नेपाल (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा) प्लमोनोलोजी), सघन उपचार सेवा र स्लिप मेडिसिन सेवा दिने पहिलो अस्पताल बनेको छ ।
अस्पतालले न्यूरो सर्जरी र प्लाष्टिक सर्जरी सेवा पनि चाँडै सुरु गर्ने तयारी गरेको अध्यक्ष सिग्देलले बताउनु भयो ।
.










