बाँकेमा एकैदिन ५ दिने सुत्केरीसहित ४ जना संक्रमितको मृत्यु

नेपालगन्ज: बाँकेमा शुक्रबार एकैदिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार पाँच दिने सुत्केरीसहित ३ जना र भेरी अस्पताल नेपालगन्जमा एकजना ४८ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार तीनजना बाहिरी जिल्लावाट उपचारका लागि आएका व्यक्ति हुन भने एक जना बाँकेको राप्ती सोनारीका पुरुष हुन । शुक्रबार मृत्यु हुनेमा संक्रमित दाङ तुलसीपुर १० की २० वर्षिय सुत्केरी महिला र तुलसीपुर ५ का ७६ बर्षिय पुरुष हुन भने टिकापुर नगरपालिका १ कैलालीकी ५६ वर्षिय महिला हुन । त्यस्तै बाँकेको राप्तीसोनारी ८ शम्सेरगन्जका ४८ बर्षका पुरुषको कोरोना संक्रमणका कारण मृतयु भएको हो ।
प्रसुती सेवाका लागि कात्तिक १६ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना गरिएकी ति महिलाले १७ गते बच्चा जन्माएकी थिईन । स्वास्थ्यमा समस्या देखिएपछि १८ गते कोरोना परीक्षण गर्दा ती महिलामा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएसंगै कोरोना वार्डमा भर्ना गरी रोगको प्रकृती अनुसार अक्सिजन र एन्टिबायोटिक सहितको उपचार सुरु गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार दिउसो ३ बजेर २० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
त्यस्तै शुक्रबार कैलालीको टिकापुर नगरपालिका वडा नम्वर १ की ५६ वर्षिय महिलाको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि विहिबार शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी ती महिलाको शुक्रबार २ः४५ मा मृत्यु भएको थियो । उनको मृत्यभएको झण्डै सवा एक घण्टापछि संक्रमण पुष्टि भएको हो ।
त्यस्तै भर्खरै प्राप्त जानकारी अनुसार बाँकेको राप्तीसोनारी ८ शम्सेरगन्जका ४८ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या आएर कार्तिक २ गते भेरी अस्पतालमा भर्ना भएका उनमा ३ गते कोरोना पोजेटिभ देखिएको थियो । रोगको प्रकृती अनुसार अक्सिजन, एन्टिबायोटिक, रेन्डिसिबिर र प्लाज्मा थेरापी सहितको उपचार सुरु गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार बेलुकी ५ बजेर २० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । कोभिडको जटिलताका कारण मृत्यु भएपनि उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएकोले सव व्यवस्थापन भने घरपरिपवारबाटै हुने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
त्यसैगरी कोरोना संक्रमणका कारण दाङको तुलसीपुर नगरपालिका ५ का ७६ बर्षिय एक पुरुषको समेत शुक्रबार मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि कार्तिक १३ गते नेपालगन्ज मेडिकल कलेज कोहोलपुर भर्ना भएका उनको शुक्रबार ६ः४० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । यो सँगै बाँकेमा विभिन्न जिल्लावाट उपचारका लागि आएका २७ र बाँकेका ३५ जनाले कोरोना संक्रमणवाट ज्यान गुमाएका छन ।