सात किलो अफिमसहित पक्राउ परेका जाजरकोटका २ जना सार्वजनिक
नेपालगन्ज: जिल्ला प्रहरी कार्यालय बाँकेले ७ किलो अफिम सहित मंगलबार कोहलपुरबाट पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । जाजरकोट नलगाढ न.पा.वडा नं.९ का ४५ बर्षिय जय बहादुर सिंह र ३३ बर्षिय बिरेन्द्रमान सिंहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । उनीहरु दुवैजना कोहलपुर बसपार्क स्थित भेरी गेष्ट हाउसको कोठा नं. १०५ वाट ७ किलो अफिम सहित मंगलवार पक्राउ परेका थिए ।
लागु औषध अफिमको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो, शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरीको टोलीले खानतलासी गर्दा ति दुवैजना पक्राउ परेको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए । उनीहरुको साथवाट कालो रंगको झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा गिलो लागु औषध अफिम जस्तो पदार्थ फेला पारेर बरामद गरी आवश्यक अनुसन्धान एवं कारवाही अगाडि बढाईएको प्रमुख रानाको भनाई छ । लागु औषध तथा नियन्त्रण ऐन २०३३ अनुसार उनीहरु माथिको अभियोग प्रमाणित भए १५ वर्ष जन्म कैद र ५ लाख देखी २५ लाख सम्म जरिवाना हुने कानूनी प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।