डाक्टरको हस्ताक्षर किर्ते गरी निःशुल्क पीसीआर परीक्षणमा सेवाग्राहीसँग एक हजार असुल्ने ३ पक्राउ

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा सःशुल्क पीसीआर परीक्षणमा एक हजार रुपैयाँ सेवाग्राहीसँग लिएर निःशुल्क गराउने तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्सपेक्टर हृदेश सापकोटाका अनुसार पक्राउ पर्नेमा भेरी अस्पतालमा कार्यरत २ जना सेक्युरिटीका र एक जना कार्यालय सहयोगी हुन् । अस्पतालले सेक्युरिटीको जिम्मा निजी सुरक्षा कम्पनीलाई दिएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा उनीहरुले ६ जना व्यक्तिबाट एक एक हजार रुपैयाँ लिएको बताएका छन् ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भने सुरक्षाको ठेक्का पाएको बागेश्वरी सेक्युरिटीका ३ जना सुरक्षाकर्मीले डाक्टरको हस्ताक्षर किर्ते गरेर सेवाग्राहीबाट एक हजार रुपैयाँ लिएर निःशुल्क पीसीआर गरेको बताए । उनले भने, ‘ती हाम्रा कर्मचारी होइनन् । कर्मचारीले हस्ताक्षर किर्ते गरेर निःशुल्क पीसीआर गराइरहेको थाहा पाएपछि हाम्रा कर्मचारीले प्रहरीलाई खबर गरेर पक्राउ गरेका हुन् ।’भेरी अस्पतालमा विपन्नलाई डाक्टरको सिफारिसमा निःशुल्क कोरोना परीक्षण हुन्छ । पैसा तिरेर परीक्षण गर्नेलाई भने दुई हजार रुपैयाँ लाग्छ ।