जमुनाहा नाकामा भारत जानेको घुइँचो
नेपालगन्ज : नेपालीहरुका महान चाडपर्व सकिएसँगै बाँकेको जमुनाह नाकाहुँदै दैनिक जसो दुई हजार बढीको संख्यामा नेपालीहरु कामको खोजीमा भारत जाने गरेका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिमलाई बेवास्ता गर्दै आफ्ना लालावाला पाल्न लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत जाने गरेका हुन् ।
लामो समयसम्म घरमै बसे पनि देशमा रोजगारीको अवसर नभएपछि असहज परिस्थितिमा पनि आफूहरु भारत छिर्न बाध्य भएको जाजरकोटका कर्णबहादुर रावतले बताए । नेपालमा रोजगार नपाइने भएकाले बालबच्चाको लालनपालनकै लागि कमाइ गर्न भारत जान बाध्य भएको उनको भनाइ छ ।
भारतबाट नेपाल भित्रिनेको संख्या कम हुँदै गए पनि दैनिक दुई हजारदेखि दुई हजार पाँच सयको संख्यामा नेपाली भारत जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख विष्णु गिरीले बताए । दशैं, तिहार र छठ पर्व सकिए लगत्तै जमुनाहा नाकाहुँदै लुम्बिनि कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै नेपालीहरु भारत गइरहेको इप्रका जमुनाहाले जनाएको छ ।