बाल विवाह मुक्त वडा घोषणा गर्न बाँकेमा सरोकारवालाको ऐक्यबद्धता
नेपालगन्ज : बाँकेमा वडालाई बाल विवाह मुक्त घोषणा गर्न सरोकारवालाहरुले ऐक्यबद्धता जनाएका छन् ।
कोक्याप तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको बाल विवाह मुक्त वडा घोषणाका लागि जिल्ला स्तरीय सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, सरकारी कर्मचारी, सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरुले एकमत जाहेर गरेका हुन् ।
कार्यक्रममा स्याक बाँकेका बाल विवाह रोकथाम परियोजना प्रबन्धक जगदीश थापा र र कमला राईले बाल विवाहका विषयमा प्रस्तुतीकरण गरेका थिए । प्लान इन्टरनेशनल नेपालका आशा बुढा मगरले आर्ट इज पावरका विषयमा प्र्रस्तुत गरेकी थिइन् । सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्ती मगर र आर्ट अफ पावरमा सहभागिता जनाएका किशोरीद्वय चेतना केसी तथा राधिका विकले किशोरीले बनाएका कला सम्बन्धी चित्रको फ्रेम स्थानीय तहलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका साथै जिल्लाका ८ वटै स्थानीय तहका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक बाँकेले सञ्चालन गरेको बाल विवाह रोकथाम परियोजना अन्तर्गत बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा, बैजनाथ, डुडुवा, राप्ती सोनारीलगायतका स्थानीय तहका केही वडालाई बाल विवाह मुक्त घोषणाको तयारी भइरहेको छ ।