कोरियाबाट फर्केर कडकनाथ कुखुरापालनबाट लोभलाग्दो आम्दानी गर्दै कमल

नेपालगन्ज : स्वदेशमा काम नपाएको भन्दै दैनिक सैयौं युवाहरु विदेश पलायन भइरहेका छन । नेपालमा रोजगारीका अवसर नभएको भन्दै वैदेशिक रोजगारीप्रति युवाको आकर्षण बढिरहेका बेला बाँकेमा ५ वर्ष कोरिया बसेर फर्केका एक युवाले कडकनाथ जातको कुखुरा पालन गरेर लोभलाग्दो कमाइ गरिरहेका छन् । ५ वर्षसम्म कोरिया बसेर फर्केका बर्दियाको राजापुर ८ का कमल वलीले बाँकेको गनापुरमा व्यवसायीक रुपमा एकीकृत कृषि फर्म सञ्चालन गरी राम्रो आम्दानी गरिरहेका हुन् ।


विदेशमा बस्दा सिकेको सिप र अनुभवलाई स्वदेशमै लगानी गरी उनले त्यहाँभन्दा राम्रो कमाइ गरिरहेको बताए । २ वर्ष अघि सञ्चालन गरेको उनको फर्मको मुख्य आकर्षण र बढी कारोबार हुने भनेको कडकनाथ जातको कुखुरा हो । स्वास्थ्यका लागि अति उपयोगी मानिने कडकनाथ कुखुराका साथै यतिबेला उनले हाँस, बटाइ, अमेरिकन लौकट, टर्की र बाख्रापालन गरेका छन् । कडकनाथ कुखुरा उत्पादन मात्र होइन ह्याचरी उद्योग स्थापना गरेर चल्ला उत्पादनसमेत हुने गरेको छ । हाल त्यहाँ उत्पादित चल्लाको मुख्यबजार काठमाडौंका साथै देशका विभिन्न स्थानबाट माग हुने गरेको उनी बताउँछन् । कोरिया बस्दा श्रमलाई इज्जत गर्न सिकेको बताउने उनले त्यहाँ गर्ने दुखःको ५० प्रतिशत मात्रै मेहेनत स्वदेशमा गरे राम्रो आम्दानी गर्न सकिने ठानेर व्यवसाय शुरु गरेको बताए । हाल उनले उत्पादन गरेका कडकनाथ जातका कुखुराको चल्लाको अत्याधिक माग बढेपछि आपूर्ति गर्न भ्याइनभ्याइ छ ।


उत्पादित कडकनाथ र स्थानीय कुखुराको खपतका लागि गनापुरमै बेलीफूल रेस्टुरेन्टसमेत सञ्चालनमा ल्याएका ओलीले सरकारले आफूहरु जस्ता युवालाई सहुलियत ऋण दिने जनाए पनि पहुँचवालाले मात्र त्यस्तो ऋण पाउने गरेको गुनासो गरे । विदेशबाट फर्केको १५ दिनमै व्यवसाय सुरु गरेका उनले ७ जनालाई रोजगारी दिनुका साथै कोरियाको जस्तै लोभलाग्दो कमाइ गरेका छन् ।