शिक्षा शाखा अधिकृतसहित पछिल्लो २४ घण्टामा बाँकेमा तीनजनाको मृत्यु
नेपालगन्ज/ कोरोना भाइरस संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत सहित डोटी र दैलखका १/१ जना हुन ।
कोरोना संक्रमणका कारण नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको आईतबार विहान निधन भएको छ । मंसिर २४ गते कोरोना परीक्षण गरिएका विष्टको २५ गते पोजेटिभ भएको रिपोट आएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि २७ गते बेलुकी भेरी अस्पतालमा भर्ना गरिएका विष्टको आईतवार विहान ३ः३० बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
त्यस्तै डोटीको दिपायल सिलगडी वडा नं. ५ का ४९ बर्षीय पुरुषको शनिबार राती ७ः४५ बजे मृत्यु भएको छ । मंसिर २६ गते सेती अस्पतालमा कोरोना जाँचगर्दा पोजेटिभ रिपोर्ट आएका उनको शनिबार बेलुकी ७ः ४५ मा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । कोरोना संक्रमणका कारण शनिवार दिउँसो दैलेख नारायण नगरपालिका ९ का ३८ बर्षिय पुरुषको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट बाँकेका ४१ जना र बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ६८ जनाको मृत्यु भइसकेको छ ।