सिक्टा सिँचाई आयोजनाको लागत र अवधी लम्बिँदै

नेपालगञ्ज : अन्न भण्डारको अनुपम भुमि बाँकेको माटोमा धान हैन हिरा नै फल्ने कृषकको विश्वास छ । तर सिंचाई समस्या समाधान नहुँदा माटोमा हिरा फलाउने बाँकेवासीको सपनाले पुर्णता पाउन सकेको छैन । सरकारले राष्ट्रिय गौरबको आयोजनामा समाबेस गरी आठ बर्षमा सकिने लक्ष्य सहित आर्थिक बर्ष २०६३ सालवाट शुरुभएको सिक्टा सिचाई आयोजनाले किसानको सपना पुरा गर्न अझै धेरै बर्ष लाग्ने देखिएको छ । आयोजनाको आर्थिक बर्ष २०७१/०७२ को संसोधित गुरुयोजना अनुसार २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको थियो । त्यो लक्ष्य पुरा नभएको भन्दै आयोजनाको गुरुयोजना संसोधनको तयारी थालिएको छ । आयोजना अन्तगर्त संचालन गरिने सामाजिक सरोकारका साथै विभिन्न संरचना निर्माणका काम पुरा नभएपछि आयोजनाको गुरुयोजना संसोधन प्रकृया अघि बढाईएको हो । संसोधित गुरुयोजनाअनुसार आयोजनाका काम तीन चरणमा सम्पन्न हुनेछन । शनिबार नेपालगन्जमा आयोजनाको हालसम्मको प्रगती, चुनौती र आगामी रणनीति सम्वन्धी सरोकारवालाहरुको छलफल आयोजना गरिएको थियो । उक्त छलफलमा आयोजनाका निर्देशक लोकबहादुर थापाले मुल नहर निर्माणको काम सकिएकोले पहिलो चरण करिव पुरा भएको भन्दै तीन चरणमा आयोजना सम्पन्न गर्ने प्रस्तावित गुरुयोजनाका बारेमा जानकारी दिए ।


संसोधित गुरुयोजना अनुसार आयोजनाको लागत र समयावधी बढाउने तयारी थालिएको छ । यसअघि २०७६/२०७७ मा सम्पन्न भई कुल २५ अर्ब २ करोड खर्च लाग्ने अनुमान गरिएकोमा प्रस्तावित दोस्रो संसोधन अनुसार ३९ अर्ब लागत र २०८५/०८६ मा सम्पन्न गर्ने अनुमान गरिएको निर्देशक थापाको भनाई छ ।
आठ बर्षमा सकिने लक्ष्य सहित आर्थिक बर्ष २०६३ सालवाट शुरुभएको आयोजनाको आर्थिक बर्ष २०७१/०७२ को संसोधित गुरुयोजना अनुसार २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको थियो । तर, आयोजना शुरु गर्दा पश्चिम नहर मात्र निर्माण गर्ने गरी क्षेत्र तोकिएकोमा पछि आएर पुर्बी नहर थप हुनु, सामाजिक सरोकारका कामहरु, नदी संरक्षणका काम लगायत थप संरचना निर्माण गर्नुपर्ने भएपछि गुरुयोजना संसोधन गरी लागत र समयावधी बढाउनुपर्ने अवस्था आएको सिँचाई विभागका महानिर्देशक मधुकरराज भण्डारीले बताए ।
राष्ट्रिय गौरवका आयोजनालाई बर्षोबर्ष सम्म लम्ब्याई राख्दा जनतामा राम्रो सन्देश जाँदैन । यही कुरालाई मध्यनजर गर्दै मन्त्रालयले पहिलो, दोस्रो र तेस्रो चरणमा सम्पन्न गर्नेगरी गुरुयोजना परिमार्जन गर्न लागेको उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनको भनाई छ । उनले सिक्टाको मुलनहरका संरचना बनीसकेकोले बैशाखसम्म पुर्ण रुपमा संचालन गर्ने तयारी थालिएको बताए । राष्ट्रिय गौरवका विभिन्न आयोजना सम्पन्न हुँदै गएको बताउँदै उनले अव परिणाम देखिन गरी काम भईरहेको बताए ।
सिक्टा सिँचाई आयोजना सुरु भएदेखि हालसम्म करिव ६४ प्रतिशत प्रगती भएको छ भने १६ अर्ब रुपैया खर्च भईसकेको छ । आयोजनाले बाँकेको ४३ हजार हेक्टर कृषियोग्य भुमिमा सिंचाइ सुविधा पु¥याउने लक्ष्य राखीएपनि हालसम्म १६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याईएको छ । जिल्लास्थित सरोकारवालाहरुले आयोजनाको लागत र अवधी बढाउँदै गर्दा कृषकले पानी उपभोग गर्न पाउने गरी दिगो संरचना निर्माणको माग गरेका छन ।