प्रचण्ड-नेपालद्वारा ओलीलाई अध्यक्ष बर्खास्त, नेपाललाई जिम्मेवारी, ओलीबाट महाधिवेशन घोषणा
नेपालगन्ज : पार्टी विभाजनको औपचारिक घोषणा नगरे पनि नेकपाका दुई गुटले दुई वटा छुट्टाछुट्टै बैठक गरेका छन् ।
मंगलबार काठमाडौंमा केपी शर्मा ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा र प्रचण्ड–नेपाल समूहले बबरमहलमा छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक डाकेर निर्णय गरेका हुन् । नेकपाको विधानमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षरमा मात्र पार्टीको निर्णय गर्ने व्यवस्था भए पनि दुबै गुटले आफ्नो भेलालाई आधिकारिक दाबी गर्दै निर्णय गरेका छन् । दुबैले आफ््नो पार्टी नै संस्थापन भएको दाबी पनि गरेका छन् । बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् । उनीहरुले ३१० जना बैठकमा सहभागी भएको दाबी गरेका छन् । नेकपामा ४ सय ४७ जना केन्द्रीय सदस्य छन् ।
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी केपी ओली समूहको बैठकले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ । बैठकले केन्द्रीय कमिटी विस्तार गरेर एक हजार एक सय ९९ जनाको बनाएका छन् । उनले पाँच सय ५६ जनालाई मनोनित गरेका छन् । बैठकले २ मंसिर २०७८ मा एकता अधिवेशन पनि घोषणा गरेको छ । मनोनित केन्द्रीय सदस्यलाई ओलीले सपथ ग्रहण पनि गराएका थिए ।