बालविवाह मुक्त वडा घोषणा गर्न स्थानीय तहको तयारी

खजुरा (बाँके) : बाँकेका स्थानीय तहले वडाहुँदै जिल्लालाई बालविवाह मुक्त घोषणाको तयारी गरिरहेका छन् ।
बाल विवाह अन्त्यका लागि किशोरी क्लबको अभियानबारे बुधबार खजुराको लगनशील किशोरी क्लबमा संयुक्त अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले जिल्ला परिषद्ले जिल्लालाई बालविवाह मुक्त घोषणा गर्ने प्रस्ताव पारित गरिसकेको बताए । उनले अशिक्षाका कारण बालविवाह नघटेको जिकिर गर्दै बालिका शिक्षाका लागि जिससले जिल्लाका ५ वटा स्थानीय तहमा छात्रा मात्र पढ्ने विद्यालयका लागि सहयोग गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक र नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले बालविवाह न्यूनिकरण गर्दै बालविवाह मुक्त घोषणाबारे स्थानीय तहको तयारीबारे धारणा राखेका थिए । खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले साबिक राधापुर, सीतापुर र बागेश्वरी गाविस रहेका गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ लाई बालविवाह मुक्त घोषणाको तयारी भइरहेको बताए । उनले अन्य वडामा भने बालविवाहबारे सचेतना कार्यक्रमको खाँचो औल्याएका थिए । उनले बाल विवाह न्यूनिकरणका लागि किशोरी क्लबले योजना ल्याएमा बजेट नै विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपालगन्ज उप–महानगरपालिका उप–प्रमुख उमा थापा मगरले नगरका सबै वडामा किशोरी क्लब गठन गर्ने र क्लबको संस्थागत विकास गरी बाल विवाह मुक्त वडा घोषणा गरिने बताइन् । उनले प्रष्ट पारिन, ‘हामीले यो वर्ष मधेसी, मुस्लिम र विपन्न परिवारमा छोरी जन्मेमा बालिका बिमा कार्यक्रम सञ्चालन गरेका छौं । वडा वडालाई बाल विवाह मुक्त घोषणा गर्न कार्यविधि तयार गरेर काम हुनेछ ।’
बाँकेलाई बाल विवाह मुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका ८ वटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ । प्लानकी कर्णाली प्रदेश क्षेत्रीय प्रबन्धक मीना पराजुली परियोजनाले जिल्लामा किशोरी क्लबको क्षमता अभिवृद्धि भएर पनि बालविवाहमा न्यूनिकरण भएको बताइन् । उनले किशोरी क्लबका पदाधिकारी र सदस्यसँग बालविवाह न्यूनिकरणका लागि आगामी दिनमा आयोजना गर्ने कार्यक्रमको योजना बनाउन आग्रह गरेकी थिइन् ।

कार्यक्रममा लगनशील किशोरी क्लबकी अध्यक्ष मञ्जु थापा मगर र कोषाध्यक्ष चेतना क्षेत्रीले क्लबले स्थापनाको २ वर्षमा गरेका गतिविधिबारे जानकारी गराएका थिए । उनीहरुले क्लब गठनपछि सञ्चार सीप, पत्रकारिता, साइबर क्राइमलगायतका विभिन्न किसिमका तालिम पाएर क्षमता अभिवृद्धि भएको बताएका थिए । कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अभियन्ता र पत्रकारको सहभागिता रहेको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले सञ्चालन गरेको बाल विवाह रोकथाम परियोजनाले जिल्लामा बाल विवाह मुक्त वडा घोषणा गर्न सघाइरहेको छ । परियोजनाले आगामी ६ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वटा वडा बालविवाह मुक्त घोषणा गर्ने तयारी गरेको छ ।