मानव बेचबिखन रोक्न समुदायमा सचेतना फैलाउन जोड

मुरली गोडिया । गुलरिया
व्यवसायिक यौनशोषण र मानव बेचबिखन रोक्न समुदाय स्तरमा सचेतना फैलाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
माइती नेपाल बर्दियाले आइतबार गुलरियामा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले बालविवाह, महिला हिंसा, मानव बेचबिखन, व्यवसयिक यौन शोषणलगायतका घटना न्यूनिकरण गर्न बन्द कोठा र शहर बजारमुखी कार्यक्रम गर्नुको साटो समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने बताएका हुन् ।
बदियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विद्यालयदेखि समुदाय स्तरसम्म मानव बेचबिखनबिरुद्ध चेतना अभिबृद्धि गर्न सम्बन्धित सबले प्रभावकारी रुपमा भूमिका खेल्नुपर्ने बताए । बर्दियाको ८३ किलोमिटर भूमि खुला सिमाना भएका कारण बेचबिखन बढेको र मानव बेचबिखनमा शून्य सहनशीलता अपनाई सबै जना लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख शुशीला गिरीले व्यवसायिक यौन शोषण एवं मानव बेचबिखनबिरुद्ध नगरपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गरी वडा स्तरसम्म महिला तथा बालबालिकाका क्षेत्रमा देखिएको समास्या समाधान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन् । बर्दियाका प्रहरी प्रमुख केदार रजौरेले मानव बेचबिखनबिरुद्ध, महिला हिंसा तथा अन्य हिंसा रोक्न जिल्लाका पालिकाहरु समूहहरु निर्माण गरी न्यूनिकरणका लागि अभियान चलाउनु पर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले गरेकी थिइन् ।