नेपालगन्जकी चेली स्वास्थ्यकर्मी आरती थारु बनिन् इन्ट्रीग्रिटी आइकन टप-५ विजेता

आरती भन्छिन्, ‘जोखिम मोलेर भए पनि आफ्नो कर्तव्य निर्वाह गरेकी छु । जिम्मेवारीबाट कहिल्यै भागिन, भाग्दिन । सेवा गर्नु नै मेरो प्रमुख काम हो, गर्छु’
इन्ट्रीग्रिटी आइकन-२०२० को टप–५ को विजेता आरती थारु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका-१ की आरती थारु इन्ट्रीग्रिटी आइकन-२०२० को टप–५ को विजेता भएकी छन् । उनी नेपालगन्ज-१२ मा रहेको नेपालगन्ज स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षकको रुपमा कार्यरत छिन् । इन्ट्रीग्रिटी आइकनमा देशभरबाट एक हजार पाँच सय दुई कर्मचारीबीचको प्रतिपर्धामा टप-२५, टप-१५ हुँदै थारु टप ५ भएकी हुन् । उनीसँगै टप–१५ मा छनोट भएका जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे भने टप-५ बाट बाहिरिएका छन् ।
थारु ८ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत छिन् । ‘एकदमै ठूलो काम गरे जस्तो लाग्दैन । मैले त राष्ट्र सेवकको रुपमा आफ्नो जिम्मेवारी मात्र पूरा गरेकी हुँ । मेरो कामको मूल्याङ्कन सेवाग्राहीले गर्ने हो’, उनी भन्छिन्, ‘जोखिम मोलेर भए पनि आफ्नो कर्तव्य निर्वाह गरेकी छु । जिम्मेवारीबाट कहिल्यै भागिन, भाग्दिन पनि । जनताको सेवा गर्नु नै मेरो प्रमुख काम र कर्तव्य हो, गर्छु ।’
इन्ट्रीग्रिटी आइकनको टप–५ मा छनोट हुँदा ‘गर्वले छाती चौडा भएको’ प्रतिक्रिया दिँदै उनले खुसी साँटिन, ‘तराईमा जन्मे हुर्केको मान्छे पहाडी जिल्ला प्युठानका गाउँगाउँमा गएर काम गर्दा निकै गाह्रो भएको थियो । त्यो कामको अहिले सम्मान भएको ठानेको छु ।’ २०७० सालमा प्युठानको स्वर्गद्वारी स्वास्थ्य चौकीदेखि जागिर सुरु गरेकी आरतीले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन भूमिका खेलिन् । ०७१ सालमा प्युठानको साबिक खाल गाविसलाई पूर्ण खोप घोषणा गर्न उनले भूमिका निर्वाह गरिन् । यस कार्यवापत जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानले उनलाई ०७२ सालमा उत्कृष्ट कर्मचारी सम्मान गरेको थियो । त्यसपछि सरुवा भएर उनी बाँकेको जानकी गाउँपालिकाको गनापुर स्वास्थ्य चौकीमा पुगिन् ।

८ फागुन २०७४ मा जानकीलाई पनि पूर्ण खोप घोषणा गर्न उनले भूमिका निर्वाह गरिन् । कोरोना कहरमा उनी नेपालगन्ज स्वास्थ्य चौकीमा रहेर काममा खटिन । उनी भन्छिन्, ‘नेपालगन्ज–१२ को कोरोना फोकल पर्सन भएर काम गरिरहेकी छु । अहिलेसम्म मलाई कोरोना संक्रमण भएको छैन । धेरैलाई संक्रमणबाट जोगाउने प्रयास गरेकी छु ।’