खजुरालाई प्लाष्टिक मुक्त बनाइने
नेपालगन्ज : खजुरा गाउँपालिकालाई प्लाष्टिक मुक्त पालिका बनाइने भएको छ ।
गाउँपालिकाको मंगलबार सम्पन्न ८औं गाउँसभामा सदस्य निसार अलि दर्जीले प्रस्तुत गरेको प्लाष्टिक मुक्त पालिका बनाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा सम्पन्न गाउँसभामा उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजश्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अध्यावधि क गर्ने कार्यसूची पनि सभाले पारित गरेको थियो ।
गाउँसभामा अध्यक्ष कक्षपतिले आर्थिक वर्ष ०७७ ७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पूँजीगत ११ दशमलव ३२ प्रतिशत खर्च भएको बताए । त्यस्तै संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पूँजीगत खर्च शून्य रहेको, प्रदेश सरकारबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पूँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको कक्षपतिले बताए । उनले सबै वडामा सञ्चालित विभिन्न योजनाहरुको ठेक्का सम्झौता र उपभोक्ता समितिमार्फत हुने काम पनि सञ्चालनमा रहेको बताए । ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उनले जानकारी दिए । सभाले चालू आर्थिक वर्षमा केही योजनाहरु संशोधन र परिमार्जनसहित पारित गरेको छ । गाउँसभामा चालू आर्थिक वर्षको राजश्व संकलनको अवस्था सुधार रहेको भन्दै मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार ९ सय ५६ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिइएको थियो ।