इन्टेग्रीटी आइकन टप–५ आरती थारुलाई नेपालगन्जको माघी मिलनमा सम्मान

इन्टेग्रीटी आइकन टप–५ आरती थारुलाई नेपालगन्जमा माघी मिलन कार्यक्रममा सम्मान गर्दै थारु आयोगका सदस्य सुवोध सिंह थारु । फोटो सौजन्य : चन्द्रबहादुर थारु

नेपालगन्ज : इन्टेग्रीटी आइकन–२०२० को टप–५ मा छनोट भएकी नेपालगन्जकी आरती थारुलाई गृह जिल्ला बाँकेमा सम्मान गरिएको छ ।
थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीको अवसरमा थारु कल्याणकारिणी सभा नगरसभा नेपालगन्जले थारु सम्वत् २६४४ को अवसरमा मंगलबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा थारु आयोगका सदस्य सुवोधसिंह थारुले आरतीलाई सम्मान गरेका हुन् । नेपालगन्ज स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक आरती इन्टेग्रीटी आइकनमा देशभरीका एक हजार पाँच सय दुई प्रतिष्पर्धीबाट टप–५ मा छनोट भएकी हुन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा, कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जुकुमारी चौधरी, नेकपा बैजनाथ गाउँपालिका अध्यक्ष चन्दबहादुर थारु, ब्रिनाेज कान स्वास्थ्य स्याहार केन्द्रका प्रमुख प्रशासकीय अधिकृत पुरन थारू, थारु आदिवासी कर्मचारी व्यवसायी संगठनका महासचिव पूर्ण चौधरी, थारु कल्याणकारी सभा बाँकेका सभापति विनोद थारु र कञ्चनपुरका उपसभापति सानु चौधरी लगायतले माघीको शुभकामना दिएका थिए । कार्यक्रममा थारु किशोरकिशोरीले मघौटा नृत्य प्रस्तुत गरेका थिए ।