माघे संक्रान्ति देशभर धुमधाम मनाइँदै
नेपालगन्ज : माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति पर्व देशभर धुमधाम साथ मनाइँदैछ ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यो दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । बिहानै उठेर नदी, खोला वा जलाशयमा गएर स्नान गरी जप, तप, ध्यान साधना, दान गरिन्छ । माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खाने गरिन्छ । खिचडी पनि खाइन्छ । यस्ता परिकार खाँदा शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता छ । धर्मसिन्धुमा भनिएको छ ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ ।’ माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
माघीलाई थारु समुदायले भने नयाँ वर्षको रुपमा पनि मनाउँछन् । बाँके, बर्दिया, दांग, कैलाली, कञ्चनपुरलगायतका थारु बस्तीहरुमा मघौटा नाचको रौैनकता देख्न सकिन्छ । ठाउँठाउँमा माघी महोत्सव पनि गरिन्छ ।