खराब मौसमले ७ घण्टा विमान ‘डिले’

काठमाडौंबाट नेपालगन्जका लागि बिहान ८ः४५ बजे उड्नुपर्ने विमान दिउँसो ३ः३० बजे मात्र नेपालगन्जमा अवतरण
नेपालगन्ज विमानस्थलमा विमानको प्रतिक्षामा रहेका हवाइ यात्रीहरु । फोटो : मेरोखुसी

नेपालगन्ज : खराब मौसमका कारण बुधबार नेपालगन्ज विमानस्थलमा ७ घण्टासम्म विमान डिले भएको छ ।
बुद्ध एयरको काठमाडौंबाट नेपालगन्जका लागि बिहान ८ः४५ बजे उड्नुपर्ने विमान दिउँसो ३ः३० बजे मात्र नेपालगन्जमा अवतरण भएको थियो । बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले नेपालगन्ज–काठमाडौंको लागि बिहान १०ः१५ बजेको बुद्ध एयरको विमानले दिउँसो ४ बजे उडान भरेको बताए । यति एयरलाइन्सको बिहान १० बजेको विमान भने १ बजेतिर क्यान्सिल गरिएको थियो । जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार बाँकेमा मध्यान्न १२ बजेपछि विमानले उडान गर्नसक्ने भिजिविलिटी एक हजार ६ सय मिटर पुगेको थियो ।