खजुरामा सामाजिक सुरक्षा भत्ता पाउने सबै जेष्ठ नागरिकको निःशुल्क आँखा उपचार

खजुरा-१ राधापुर स्वास्थ चौकीमा सञ्चालित आँखा शिविर । फोटो सौजन्य : दुर्गा रोकाय

खजुरा (बाँके) : खजुरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सबै जेष्ठ नागरिक लक्षित निःशुल्क आँखाको उपचार गर्न सुरु गरेको छ ।
गाउँपालिकाको जनतासँग स्थानीय सरकार कार्यक्रम अन्तरगत भिजन आँखा अस्पताल नेपालगन्जसँग सहकार्य गरेर १ देखि ८ सम्मका सबै वडामा आँखा शिविर गर्ने गाउँपालिकाले जनाएको छ । जेष्ठ नागरिकको आँखा निःशुल्क चेकजाँच, औषधि वितरण र करिब एक सय जनाको निःशुल्क अप्रेशन गर्ने लक्ष्य लिएको छ । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमबार वडा नं. १ राधापुर स्वास्थ चौकीमा सञ्चालित आँखा शिविरको शुभारम्भ गर्दै जनताका प्रत्यक्ष गुनासो सुन्ने र समस्या समाधान गर्न कार्यक्रम लागू गरिएको जानकारी दिए । जनताका समस्यासँग हातेमालो गर्ने र तत्काल समाधान हुने समस्या हल गर्ने उद्देश्यले यो कार्यक्रम चालु आर्थिक बर्षदेखि सञ्चालनमा आएको हो ।
गाउँपालिका सामाजिक विकास संयोजक फत्तेकुमारी जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, भिजन आँखा अस्पतालका प्रबन्ध निर्देशक बाबु तरुण गौतम, वडा नं. १ का स्वास्थ्य प्रमुख दीपक ढकाल, स्थानीय मगनसिंह थापाले यस्ता कार्यक्रमले जनता लाभान्वित हुने विश्वास ब्यक्त गरे ।