पराजुलीको ‘कोटेश्वरको केटो’ लाई १ लाख राशीको उत्कृष्ट साहित्यिक कृति पुरस्कार
नेपालगन्ज : इञ्जा उत्कृष्ट साहित्यिक कृति पुरस्कार–२०२० ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ ।
अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले स्थापना गरेको एक लाख राशीको यो पुरस्कार साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गर्ने निर्णय गरेको हो । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक पुस्तकमध्येबाट पुस्तक समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको इञ्जाले प्रेस नोटमा जनाएको छ ।
पराजुलीका विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा माक्र्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन् । एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति प्रकाशित भएका छन् ।