कैलालीमा अधिकांश प्रहरी चौकी भवन जिर्ण

जनकपुर चाैकीकाे काेठाभित्र छतकाे अवस्था

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा जिर्ण भवनमा प्रहरी चौकी सञ्चालन गरिएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ७ स्थित प्रहरी चौकी कालाकण्डा भजनी नगरपालिका वडा नं. ८ स्थित प्रहरी चौकी जनकपुर, वडा नं. ५ स्थित सीमा प्रहरी चौकी पृथ्वीपुर, वडा नं.७ स्थित प्रहरी चौकी गन्जवा र कैलारी गाउँपालिकाको सीमा प्रहरी चौकी रामपुर लगायतका अधिकांश प्रहरी चौकीका भवन जिर्ण अवस्थाका रहेका छन ।
शसस्त्र द्वन्द्वका बेलामा माओबादीले ध्वस्त पारेका जिर्ण भवनबाट सेवा दिन प्रहरीलाई अफ्ठयारो हुने गरेको प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायब निरीक्षक राजेन्द्र कुमालले बताए । बर्षादको समयका छतबाट पानी चुहिने अवस्थाको घर रहेको यस्तो अवस्थाको भवनमा बसेर जनताको सुरक्षा दिनु पर्ने बाध्यता रहेको छ भने अर्को तिर सिमा नाकामा हुने चोरी तस्करी नियन्त्रण समेत गर्नु परिरहेको उनले अवस्था दर्शाए ।
त्यसै गरी भजनी नगरपालिका वडा नं. ८ स्थित प्रहरी चौकी जनकपुरको भवनको अवस्था पनि मजबुद छैन । उक्त चौकीको भवन पनि करिव ४० वर्ष पुरानो रहेको र त्यो पनि स्थानीय नरबहादुर चन्दको घर भाडामा लिएर बसिरहेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीपक पन्तले बताए । उक्त घरको छत ढलानमा राखिएका सरिया देखिन्छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी करिब २३ विगाहा जमिन रहेको भजनी नपा ५ स्थित सीमा प्रहरी चौकी पृथ्वीपुरको भवनको अवस्था पनि नाजुक छ । हिउँदको समयमा हुने शित पनि छेक्न नसक्ने अवस्थाको भवन रहेको र छतमा ढलान गरिएका सरियासमेत देखिएको भवन कुन दिन भत्किने हो भन्ने चिन्ताले पिरोलिरहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षका इन्द्रबहादुर बोहरा बताउँछन् । भजनी नगरपालिकाको सहयोगमा भवन निर्माण कार्य शुरु भएको करिब २ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा जिर्ण भवनबाट सेवा दिन समस्या भइरहेको बोहराले बताए । भवनको अवस्था देखेर भजनी नगरपालिकाले करिब ३६ लाख बराबरको सुविधा सम्पन्न भवन निर्माण कार्य गरिरहेको छिट्टै निर्माण सम्पन्न गरेर प्रहरीलाई सो भवनमा सारिने भजनी नगरपालिका वडा नं.५ का वडाअध्यक्ष केशव बुढाले जानकारी दिए ।
त्यसै गरी कैलारी गाउपालिकास्थित सीमा प्रहरी चौकी रामपुर पनि कर्कटपाताले छाएको कच्ची घरमा रहेको छ । उक्त प्रहरी चौकीका कार्यरत प्रहरीलाई पनि हिउँदमा चिसो थेग्न गाहो हुने गरेको छ भने चैत्र वैशाख महिनामा हावा हुरीले घरको छाना उडाएर लैजान्छ कि भन्ने चिन्ताले सताउँने प्रहरीहरु बताउँछन् ।

प्रहरी चाैकी कालाकुण्डा