बाँकेका कैदीबन्दी बाह्रमासे लुतो संक्रमणको मारमा
नेपालगन्ज : बाँके जिल्ला कारागार र बाल सुधार गृहमा ६० प्रतिशत भन्दा बढीमा लुतो र दाद संक्रमण भएको छ । बाँके जिल्ला कारागार र जयेन्दु बाल सुधार गृहका ९ सय ४ कैदीबन्दीमध्ये आधाभन्दा बढीमा लुतो र दादको संक्रमण भएको प्रशासनले जनाएको छ ।
बाँके कारागारका प्रमुख रामकुमार सोनकरका अनुसार ७ सय ८६ जना कैदीबन्दी रहेकोमा ७० प्रतिशत जतिमा छाला रोगको समस्या रहेको छ । प्रमुख सोनकरले प्रष्ट पारे, ‘माछामासु खान नदिएर लुतोको उपचार गरिरहेका छौं तर पनि पूर्ण रुपमा निको हुन सकेको छैन ।’
डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा रहेका १ सय १८ छन् । त्यहाँ रहेका आधा बढीलाई लुतोको संक्रमण रहेको सुधार गृह प्रमुख विमला काउचा मगरले बताइन् । उनले भनिन्, ‘जाडो महिनामा अलि कम भए जस्तो थियो । फेरि सुरु भइसकेको छ ।’ कारागार र बाल सुधार गृहमा क्षमताभन्दा बढी कैदीबन्दी हुने भएकाले लुतो र दादको संक्रमणले वर्षभरी नै सास्ती दिने गरेको जनाइएको छ । नियमित रुपमा उपचार गरे पनि निको नभएको बताएका छन् । कारागार र बाल सुधार गृहमा छाला रोगको उपचारका लागि सहयोगी दाताको खाँचो छ ।
गत वर्ष लायन्स क्लब नेपालगन्ज पीएनएलएफले जयेन्दु बाल सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । त्यत्तिबेला बाल सुधार गृहका एक सय ३२ जनामध्ये अधिकांशमा लुतो र दादको संक्रमण पाइएको थियो ।