बाजुराको खप्तड छेडेदह गाउँपालिका एक घर एक खाता खोलेर नमूना पालिका घोषणा

बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालिकाले आफ्नो सबै घरधुरीलाई बैंक खाता खोल्न सफल भएको छ ।

गाउँपालिकाले एक घर एक बैंक खाता अभियान नै सञ्चालन गरी एक वर्षभित्र गाउँपालिकाका रहेका ३ हजार २ सय ३४ घरधुरीमा ९ हजार ४ सय ७६ जनाको हिमालयन बैंक लिमिटेडको छेडेदह शाखामा खाता खोलेको हो । यो गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो नमूना गाउँपालिका घोषणा भएको छ । शुक्रबार आयोजित घोषणा कार्यक्रममा नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक शुभाषचन्द्र घिमिरेले हिमालयन बैंकले नेपालकै वित्तीय साक्षरता अभियानको लागि नमुना काम गरेको भन्दै प्रशंशा गरेका थिए ।

गाउँपालिका अध्यक्ष नरबहादुर रावतको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी, स्थानिय सुर्जादेबी रावत, लालबहादुर रावतले एक घर एक खाता अभियान सम्पन्न गरेकोमा गाउँपालिकालाई बधाइ तथा शुभकामना दिएका थिए ।
नेपाल सरकारले २०७६ सालको नयाँ वर्षमा सरकारले समृद्धिसँग जोडौं नाता सबै नेपाली बैक खाता नारा सहित खोलौ बैंक खाता अभियान घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

३१ विद्यालयलाई शैक्षिक सामग्री सहयोग
हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकामा सञ्चालित ३१ वटा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप विद्यालयहरुलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको बताए । गाउँपालिकाका अध्यक्ष रावतले सहयोग र सहकार्यका लागि बैंकलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *