खजुरा गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता घोषणा

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै । फोटो सौजन्य : दुर्गा रोकाय

खजुरा : बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप दिगोपनाको सुनिश्चितता घोषणा गरिएको छ ।
शनिबार खजुरामा आयोजना गरिएको घोषणा समारोहमा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन् । गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष कक्षपतिले खोप सुनिश्चितता भएको प्रमाणपत्र स्वास्थ्य कार्यालय बाँकेलाई प्रदान गरेका थिए । खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको प्रमाणित गर्दै स्वास्थ्य कार्यालय बाँकेले पालिकालाई प्रमाणपत्र दिएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले पालिका अध्यक्ष कक्षपतिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै बधाइ दिएका थिए । कार्यक्रममा यूनिसेफका प्रतिनिधि, स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्मा, स्वास्थ्य चौकीका प्रमुखहरु सहाभागी कार्यक्रममा स्वागत मन्तब्य तथा खजुरा गाउँपालिका पूर्णखोपमा स्वास्थ्यको अवस्थाबारे स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले प्रस्तुतिकरण गरेका थिए । यसअघि नेपालगन्जल उपमहानगरपालिका पनि पूर्ण खोप दिगोपनाको सुनिश्चितता घोषणा भइसकेको छ ।