विश्वासिलो सहकारीको ३ दिने संस्थागत विकास तालिम सुरु
नेपालगन्ज : बर्दियाको ठाकुरबाबा नगरपालिका–८ को विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको ३ दिने संस्थागत विकास तालिम सुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) काठमाडौंको प्राविधिक सहयोगमा नेपालगन्जमा तालिम सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रममा विश्वासिलो बचत तथा ऋण सहकारी संस्था संस्थाका अध्यक्ष चित्रप्रसाद खनालले संस्थामा विद्यमान समस्या र समाधानका उपायहरु पहिचान गर्दै नमूना सहकारीको रुपमा विकास गर्न तालिम आयोजना गरेको बताए । ‘कोरोनाले सहकारीलाई पछाडि धकेलेको छ । जिल्लाकै पहिलो रोजाइको सहकारी बनाउन यस्ता क्षमता अभिवृद्धिका कार्यक्रम आयोजना हुनेछन्’, उनले भने, ‘संस्थालाई नयाँ गति दिन सञ्चालक समितिदेखि कर्मचारी सबैमा नयाँ उर्जाको खाँचो छ ।’ सहकारीकी सचिव विजया खनालले घरपायक रुपमा तालिम गराउँदा पूर्ण सहभागिता नहुने भएकाले नेपालगन्जमा आवासीय तालिम सञ्चालन गरेको बताइन् ।
सहकारीको मूल्य, मान्यता र सिद्धान्त, पल्र्स अनुगमन प्रणाली, पल्र्स अनुगमनको प्राविधिक अध्ययन, अभ्यास तथा संस्थाको अवस्थाको विश्लेषण, सहकारीमा रणनीतिक योजना, योजना निर्माणका प्रकृया र चरण, यसको आवश्यकता र महत्व र सिकाइ व्यवस्थापनका लागि कार्ययोजना तालिमका विषयवस्तु रहेका छन् । त्यसैगरी क्षमतामा आधारित ऋण लगानी, भाखा नाघेको ऋण व्यवस्थापन, सिकाइ व्यवस्थापनका लागि कार्ययोजना, संस्थागत सुशासन (साकोसको सुशासन सिद्धान्त) र आन्तरिक नियन्त्रण प्रणाली, कार्यालय व्यवस्थापन र सञ्चालक समितिको स्वमूल्याङ्कन अभ्यासलगायतका विषयमा केन्द्रीय सहकारी संघका तालिम विभाग प्रमुख गणेश तिमिल्सैना र गणेश रेग्मीले सहजीकरण गर्नेछन् । विश्वासिलो सहकारीका सञ्चालक समितिका पदाधिकारी र सदस्य, ऋण, शिक्षा, लघुवित्त, महिला विकास र युवा उप–समिति, सेवा केन्द्रका संयोजक र प्रमुख गरी ३४ जनाको सहभागिता रहेको छ ।