नेपालगन्जमा भोलिदेखि ‘एन्फा प्रेसिडेन्ट लिग’ फुटबल प्रतियोगिता हुने

नेपालगन्ज : मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले नेपालगन्ज रंगशालामा सोमबारदेखि ‘एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने यो प्रतियोगितामा प्रदेश स्तरीय लिग च्याम्पियन ७ वटा फुटबल टोलीबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय स्तरको लिग प्रतियोगितामा मोफसलबाट कम्तीमा ४ टिमले भाग लिन पाउनेछन् ।
एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकारले आइतबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सोमबार दिउँसो २ बजेदेखि सुरु हुने प्रतियोगितामा प्रदेश–१ को लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा), प्रदेश–२ को मनकामना युवा क्लब (रौतहट), बागमतिको धादिङ समाज, गण्डकीको त्रिवेणी युवा क्लब (लमजुङ), लुम्बिनीको धम्बोझी युवा क्लब (बाँके), कर्णालीको लेकाली युवा क्लब (जुम्ला) र सुदूरपश्चिम स्टारसिटी युवा क्लब (कैलाली) ले प्रतिष्पर्धा गर्दैछन् ।
लिग विजेताले १० लाख र उप–विजेताले ५ लाख नगद पाउनेछन् । प्रतियोगिताको फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५०/५० हजार नगद प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले २५/२५ हजार रुपैयाँ पुरस्कार दिने एन्फाले जनाएको छ ।