शुभकामना स्कुलको २०औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

मुरली गोडिया । गुलरिया
बर्दियाको बढैयाताल गाउँपालिका ८ कण्ठपुरको शुभकामना एकेडेमीको २०औं वार्षिकोत्सवको अवसरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
विद्यालयका पूर्वविद्यार्थीको पहलमा शुभकामना एकेडेमी र सचेतना पोलिक्लिनिकको आयोजना तथा गौतम बुक्स सप्लायर्स, नेशनल पाथ ल्याब, रिलायबल लाइफलगायतका संस्थाको सहयोगमा शिविर सञ्चालन गरिएको हो । भेरी अस्पताल नेपालगन्ज र बर्दिया जिल्ला अस्पतालका विशेषज्ञ डाक्टरले आँखा, दाँत, रगत जाँच लगायत स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको विद्यालयका संयोजक करुण तमाङ्गले जानकारी दिए । विद्यालयले निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधी दिएकोमा खुसी भएको स्थानीय प्रेमा गुरुङ्गले अनुभव सुनाइन् । बढैयाताल ८ का ६८ वर्षिय भीमकान्त पौडेल पनि दङ्ग भएका थिए । शिविरबाट विद्यार्थी, अभिभावक, जेष्ठ नागरिक गरी करिब ५ सय भन्दा बढी लाभान्वित भएको विद्यालयले जनाएको छ ।