स्थानीय र प्रदेशका जनप्रतिनिधि बालविवाह अन्त्य गर्न ऐक्यबद्ध

नेपालगन्ज : बाँकेका जनप्रतिनिधिहरुले बालविवाह अन्त्यका लागि ऐक्यबद्धता र प्रतिबद्धता जनाएका छन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोग तथा जिल्ला बाल अधिकार समिति बाँकेको समन्वयमा स्याक नेपाल बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको बालविवाह न्यूनिकरणमा देखिएका चुनौतीहरु विषय अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश र बाँकेका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले बालविवाह विरुद्ध लाग्ने बताएका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेलले बालविवाहविरुद्ध जनताको चेतनाको स्तर बढाउनुपर्नेमा जोड दिए । त्यसका लागि प्रदेश सरकारलाई ध्यानाकषर्ण गरे । उनले भने, ‘लागू औषधका मुद्दामा पक्राउ पर्दा अहिले प्रहरीमाथि दवाब दिन छुटेको छ । त्यस्तै बालविवाहको मुद्दामा पनि प्रहरीलाई स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न दिनुपर्छ ।’
अर्का सांसद बाबुराम गौतमले बालविवाह हुने अन्धविश्वास र सामाजिक कुरितिविरुद्ध राज्य निर्मम रुपमा लाग्नुपर्ने बताए । जिल्ला समन्वय समिति बाँकेका प्रमुख तथा जिल्ला बाल अधिकार समितिका संयोजक अजयकुमार श्रीवास्तवले बालविवाह अन्त्यका लागि सामाजिक विकासमा लाग्न जोड दिएका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापामगरले बालविवाह न्यूनिकरण र अन्त्यका लागि बालबालिका बालविवाहका विषयमा जानकार हुनुपर्ने, अभिभावक सचेत हुनु पर्ने र सरकारको नीति, कार्यक्रम तथा योजना सञ्चालन गर्नुपर्ने सुझाव दिन्छिन् । खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले पहाडी बस्तीमा भागेर मधेसी÷मुस्लिम समुदायमा मागी विवाह भइरहेको भन्दै कडा कानुनी कारबाही गर्नुपर्ने बताइन् ।
बाल अधिकारकर्मी रविन मल्लले बाल विवाह एक सवाल ः न्यूनिकरणमा देखिएका मुख्य चुनौतीहरु विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालगन्ज उपमहानगरका कार्यपालिका सदस्य नरबहादुर विष्ट, कोहलपुर नगरपालिका–१३ का वडा अध्यक्ष ओमप्रकाश ओली, बैजनाथ गाउँपालिका–१ का वडा अध्यक्ष रुपबहादुर मल्ल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज क्षेत्री, स्याक अध्यक्ष शिवलाल पाण्डे, बाल अधिकारकर्मीद्वय साहिल अन्सारी र ऋतिक शाही, नेपालगन्ज नगर स्तरीय किशोरी सञ्जालकी अध्यक्ष पूजा वर्मा, जानकी गाउँपालिका बाल क्लब सञ्जालका अध्यक्ष सुरज गुरुङलगायतले बालविवाह विरुद्ध धारणा राखेका थिए ।