भारतमा कोरोना संक्रमित बढेपछि जमुनाहा नाकामा पुनः हेल्थ डेक्स स्थापना

जमुनाहा नाकामा स्थापना गरिएको हेल्थ डेक्स । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : भारतमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता अपनाउँदै बाँकेको जमुनाहा नाकामा प्रयोगशालासहितको सुविधा सम्पन्न हेल्थडेस्क सञ्चालनमा ल्याइएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृतसहित ६ जना कर्मचारीको दरबन्दी कायम गरेपछि सोमबारदेखि स्थायी संरचनामा हेल्थ डेक्स स्थापना गरिएको बताए । डा.बाहेकका स्वास्थ्यकर्मी आइसक्नु भएको छ । केही दिनभित्रै हेल्थ डेक्सबाट लक्ष्य अनुसारको काम हुनेछ, चन्दले भने । हेल्थ डेक्समा डाक्टरसहित ल्याव टेक्निसियन, नर्सिङ स्टाफ र पारामेडिक्स दुई दुई जना नाकामा हुनेछन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाह, स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक सल्लाहकार सावित्री भट्टसहितको टोलीले सोमबार हेल्थडेस्क सञ्चालन लगायतका विषयमा जमुनाह नाकामा पुगेर तयारीबारे आवश्यक जानकारी लिएको छ ।