बाँकेमा हरेक ३ दिनमा १ जना नयाँ कुष्ठरोगी फेला

आइएनएफ नेपाल बाँकेद्वारा सञ्चालित साइनिङ अस्पतालले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन मानव नेपाली । फोटो : मेरो खुसी

नेपालगन्ज : बाँकेमा कम्तीमा पनि हरेक तीन तीन दिनमा एक जना नयाँ कुष्ठरोगी फेला परिरहेका छन् ।
आइएनएफ नेपाल बाँकेद्वारा सञ्चालित साइनिङ अस्पतालले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकारलाई कुष्ठरोगबारे अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन मानव नेपालीले विगत १८ महिनाको अवधिमा जिल्लामा एक सय ८६ जना नयाँ कुष्ठरोगीको पहिचान भएको जानकारी दिएका हुन् । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा एक सय ३३ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५३ जना नयाँ कुष्ठ रोगीको पहिचान भएको हो । यो तथ्याङ्कका आधारमा हरेक महिना औसत १० जना र हरेक ३–३ दिनको अन्तरमा एक जना नयाँ रोगी फेला परिरहेको देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार लुम्बिनी प्रदेशमा कुष्ठरोेगको प्रकोपदर सबैभन्दा बढी छ । अघिल्लो वर्ष २.२१ प्रतिशत र चालु आवको ६ महिनामा १.७२ प्रतिशत प्रकोप दर रहेको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले अहिले पनि कुष्ठरोगीलाई सामाजिक अपहेलना हुने गरेको बताए । ‘पहिले जस्तो घरबाटै निकालिदिने त हुँदैन । तर अहिले पनि कुष्ठरोगीमाथि हुने विभेद हटेको छैन’, उनले भने, ‘कुष्ठरोगको पहिलो डोज सेवन गर्ने बित्तिकै अरुलाई रोग सार्ने खतरा ९९ प्रतिशत हटेर जान्छ । संक्रमणको अवस्था हेरेर कम्तीमा ६ महिनादेखि बढीमा २४ महिनासम्म औषधि सेवन गर्दा पूर्ण रुपमा रोग निको हुन्छ । विभेद गर्न आवश्यक नै छैन ।’
जिल्लाका कुष्ठरोगीलाई हरेक स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामै औषधि उपचार हुन्छ । अंगभंग भएका जटिल खालका रोगीको भने आइएनएफ नेपालद्वारा सञ्चालित साइनिङ अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । आइएनएफका पदम बुढाले गत आर्थिक वर्षमा बाँकेका ५९ भारत र झन्डै एक दर्जन जिल्लाका एक सय ४५ जना नयाँ कुष्ठरोगीको उपचार गरेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी जानकी गाउँपालिकामा ४३ जना छन् भने सबैभन्दा कम राप्ती सोनारीमा ६ जना छन् । नेपालगन्ज उपमहानगरपालिकामा ३६, बैजनाथ गाउँपालिकामा २४, खजुरा गाउँपालिकामा २२, कोहलपुर नगरपालिकामा २०, डुडुवा गाउँपालिकामा १९ र नरैनापुर गाउँपालिकामा १५ जना छन् ।