बाँकेमा सोमबार ३ सय २२ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा सोमबार एकैदिन हालसम्मकै सबैभन्दा बढी तीन सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार संक्रमितमा १९८ पुरुष र १ सय २८ महिला छन् । जसमा भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा २ सय १९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ६६ र बागेश्वरी डाइग्नोसिस केन्द्रमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार मात्र कोरोनाबाट दांगकी २० वर्षीया स्टाफ नर्स र बाँकेमा ७५ वर्षका पुरुषको निधन भएको छ । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ र बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९७ जनाको मृत्यु भइसकेको छ ।