यस्तो छ नेपालगन्जको निषेधाज्ञा : बजार बन्द भएपनि चहलपहल घटेन (फोटो फिचर)

नेपालगन्ज: कोरोना संक्रमणको दोस्रो लहर भयावह रुपमा फैलिन थालेपछि बाँकेको नेपालगन्जमा आज देखि निषेधाज्ञा जारी गरिएको छ । दुई सय भन्दा बढी संक्रमित भएको स्थानमा स्थानीय प्रशासनले लकडाउन गर्न सक्ने प्रावधान अनुरुप उच्च संक्रमणको जोखिममा रहेको नेपालगन्जमा बुधबार राती १२ बजेदेखि एकसाताका लागि निषेधाज्ञा गरिएको हो ।
निषेधाज्ञा जारी गरिएपछि बिहिवार अत्यावश्यक कामबाहेक हिडडुल बन्द गरिएको छ । नेपालगन्जका बजार सुनसान बनेका छन । सडकमा मानिसहरुको उपस्थिति कमै देखिन्छ । नेपालगञ्जका पसल व्यवसाय पूर्णरुपमा बन्द भएपनि सडकमा हिडडुल गर्ने मानिस र सवारी साधनको चाँप भने उस्तै थियो । प्रशासनले विहान ९ बजेसम्म अत्यावश्क कामका लागि केही खुकुलो गरेपनि दिउसो भने केही कडाई गरिएको जनाएको छ ।
कोरोनाको चेन ब्रेक गर्न गरिएको बन्दा बन्दीको समयमा भारतबाट नेपालीहरु आउने क्रम बढेपछि नाकाबाट नगरबसले बसपार्कमा ल्याएर सम्बन्धित गन्तब्यतिर पठाउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्द्य पदार्थ, औषधी पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरु र हवाइ सेवा भने निर्वाध संचालनमा छन् ।
त्यस्तै एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन पनि चलेका छन् । निषेधाज्ञा बैशाख १५ गते राती १२ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।